
भदाै १८, सल्यान ।
सडक हिलाम्मे बनेकाे कुरा स्थानीयले फेसबुकमा लेखेकाे भाेलिपल्टै सल्यान बागचाैर नगरपालिकाका मेयर लाेकमान बुढाथाेकी सडकमा गएर सडक मर्मत गरेका छन् ।
स्थानीय समेत रहेका पत्रकार बिरेन्द्र डिसीले थारमारेकाे क्याम्पस राेड जाने सडक हिलाम्मे बनेकाे कुरा बिहीबार फेसबुकमा स्टाटस लेखेपछि त्यसकाे भाेलिपल्ट शुक्रबार मेयर आफै सडकमा गएर मर्मत गर्न थालेका हुन् ।
पत्रकार डिसीले जनकल्याण नमूना माबि तथा जनकल्याण क्याम्पस जाने बाटोकाे अवस्था बेहाल भएकाे भन्दै फेसबुकमा स्टाटस लेखेका थिए । उनले सम्बन्धित विद्यालय प्रशासन तथा नगरपालिकाले जिम्मेवारी बहन गरेर बाटाे सुधार गर्नुपर्ने उल्लेख गरेका थिए ।
डिसीकाे स्टाटसपछि शुक्रबार मेयर आफै सडकमा पुगेर नगरपालिकाकाे टिप्परमा बालुवा तथा ढुंगा ल्याइ मर्मत कार्यमा जुटेका हुन् । उनले सडकमा ढुंगा बिछ्याउदै गरेकाे तस्बिरमा देखिन्छ । त्यसपछि केहि टिप टिप्पर बालुवा ल्याएर सडकमा बिछ्याइएकाे छ ।
यस्ता कच्ची सडक गर्दा वर्षातकाे समयमा खाल्डाखुल्डी र हिलाम्मे हुँदा यात्रुहरुले सधै सास्ती पाउने गरेका छन् । बागचाैरमा मात्रै यसरी यात्रुहरुले सास्ती पाउने सडकहरुमा बागचाैरबाट विभिन्न नाकाहरुमा जाने सडक रहेका छन् ।
काेटमाैला-पातिहाल्न, खरिबाेट-बाफुखाेला, रारेचाैर-दार्मा, थारमारे-चाेरपानी, कालाखेत-पिपलनेटा जस्ता मुख्य सडकहरु ग्राभेल तथा कालाेपत्रे नहुँदा वर्षेनी यात्रुहरुले सास्ती थाेग्दै आएका छन् । यी सडक खण्डमा पनि वर्षातकाे समयमा बालुवा तथा ढुंगा लिएर बछ्याउँदा केहि हद बाटाे सुधार हुने यात्रुहरुकाे विश्वास छ ।