सल्यानमा विद्यालय सञ्चालन गर्ने तयारी

facebook sharing button
sharethis sharing button

भदौ १९,सल्यान
कोभिड १९ को संक्रमण दर घटेर निषेधाज्ञा खुकुलो भएसँगै सल्यानका स्थानीय तहहरुले भौतिक रुपमै विद्यालय सञ्चालन गर्ने तयारी गरेका छन् । स्वास्थ्य मापदण्डलाई पूर्ण रुपमा पालना गर्ने भन्दै सल्यानका चार स्थानीय तहले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएका छन् । 

केही विद्यालयमा वैकल्पिक माध्यमबाट पठनपाठन गरिए पनि त्यसको प्रभावकारिता नदेखिएको भन्दै स्थानीय तहहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी विद्यालय खोल्ने भएका छन् । ग्रामीण क्षेत्रमा इन्टरनेटको सहज पहुँच नहुँदा वैकल्पिक माध्यमबाट पढाउन समस्या आएपछि भौतिक रुपमै कक्षा सञ्चालन गर्ने निर्णय भएको शारदा नगरपालिका शिक्षा शाखा प्रमुख लिलाधर बबालले बताए । स्वास्थ्य सुरक्षाको सावधानी अपनाएर सोमबारदेखि विद्यार्थीलाई भौतिक रुपमा विद्यालयमै उपस्थित गराएर पठनपाठनलाई निरन्तरता दिन लागिएको उनको भनाई छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षालय सञ्चालन गर्न सक्ने अधिकारी स्थानीय तहलाई अधिकार दिएसँगै कोरोनाको जोखिमलाई मध्यनजर गर्दै हिजो शुत्रबारदेखि नै भौतिक रुपमा विद्यालय सञ्चालन भएको त्रिवेणी गाउँपालिका शिक्षा शाखा दल बहादुर रानाले बताए । कोभिडको जोखिम कहिलेसम्म रहने टुंगो नभएको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर भौतिक रुपमा कक्षा सञ्चालन गर्न सहजीकरण गरेको उनको भनाई छ । 

दश स्थानीय तह रहेको सल्यानमा शारदा नगरपालिका, त्रिवेणी, छत्रेश्वरी र कपुरकोट गाउँपालिकाले भौतिक रुपमा कक्षा सञ्चालन गर्न परिपत्र गरेको शिक्षा विकास तथा समन्वय इकाई सल्यानका समन्वय इकाई लाल बहादुर घर्तीले बताए ।  #सल्यान_खबर

प्रकाशित मिति : २०७८ भाद्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस