
कार्तिक १३
राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न पत्रकारसँग अन्तरक्रिया कार्यक्रम बागचौरमा सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय सल्यानको आयोजना तथा स्थानीय जनगणना कार्यालय बागचौरको समन्वय र बागचौर नगरपालिकाको व्यवस्थापनमा हिजो शुक्रवार राष्ट्रिय जनगणना २०७८ प्रचारप्रसारका लागि पत्रकारसँग अन्तरक्रिया कार्यक्रम भएको हो ।
पहिलो चरणमा घर तथा घरपरिवार सूचिकरण फारम मार्फत प्रत्येक घर तथा घरपरिवारमा पुगी घर, परिवार, पुरुष, महिला र अन्य लिङगी संख्या, परिवारको कृषि सम्बन्धी आदि विवरण मेरो गणना मेरो सहभागिता भन्ने मूल नाराका साथ १२ औं राष्ट्रिय जनगणनाको स्थलगत तथ्यांक संकलन गरिएको थियो ।
भने अब दोस्रो चरणमा यही कार्तिक २५ गते देखि मंसिर ९ गते सम्म गणकहरु प्रत्येक घर परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत घर, परिवार र ब्यक्ति सम्बन्धी विस्तृत विवरण संकलन कार्य गर्ने स्थानीय जनगणना कार्यालय बागचौरले जनाएको छ ।
स्थानिय जनगणना अधिकारी टेक बहादुर डिसीले १२ औं राष्ट्रिय जनगणना देशको संघिय संरचनाको पहिलो जनगणना भएकाले पनि वडा, पालिका, प्रदेश र संघीय स्तरमा स्थलगत सूक्ष्म तथ्यांकहरु संकलन हुने हुदा आगामी दश बर्षको लागि देशको समग्र विकास योजना बनाउन महत्वपूर्ण आधार भएकोले यसको ठुलो महत्व रहेकोमा जोड दिएका थिए ।