सल्यानमा दुर्घटनापछि भागेका चालक प्रहरी कार्यालय पुगेर के भने ?

कात्तिक २२,सल्यान
सल्यानमा हिजो आइतबार १२ जनाको ज्यान जाने गरी भएको बस दुर्घटना पछि फरार भएका बस चालक प्रहरीकाे सम्पर्कमा आएका छन् ।

फरार भएका बसका चालक सल्यानको शारदा नगरपालिका वडा नं. ३ महिसेपानीका ३० वर्षीय सुदीप खान इलाका प्रहरी कार्यालय तुलसीपुर दाङको सम्पर्कमा आएपछि अहिले त्यहाँबाट जिल्ला प्रहरी कार्याल सल्यान ल्याइएकाे छ ।

चालक खानले दुर्घटनाबारे आफ्नो प्रतिकृया समेत दिएका छन् । उनले ‘मेन सेकेण्ड पट्टा’ भाँचिएपछि बस दुर्घटनामा परेकाे जवाफ दिएका छन् ।
बसकाे स्टेरिङले काम नगरेपछि घुम्तीमा बस मोड्नै नसकेकाे उनले बताएका छन्। उनले भने, ‘अगाडिको मेन सेकेण्ड पट्टा खाल्डोमा परेर एकै पटक भाँचिएपछि एक्कासि ड्राइभर साइडमा गाडीले तान्यो । मैले खलासी साइडमा जति काट्न खोजे पनि स्टेरिङले काम नै गरेन।’

चालकले मदिरा सेवन गरी सवारी चलाएको आशंका गरिएको छ नि ? भनेर प्रश्न गर्दा चालक खानले त्यो सरासर गलत र झूटो भएको जानकारी दिए ।
उनले आफूलाई दाहिने खुट्टा, छाती लगायतका स्थानमा घाउ चोट लागेको जानकारी दिए । सोमबार बिहानमात्रै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगेर  आफूले प्राथमिक उपचार गराएको उनले बताए । दुर्घटनापछिको अवस्था भयावहपूर्ण देखेपछि असुरक्षा महसुस गरी आफू त्यहाँबाट भागेको उनले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस