सल्यानमा विद्यालयमा पक्की भवन निर्माण भएपछि विद्यार्थीहरुको पठनपाठनमा सहज ।

सल्यान, २९ कार्तिक,शंकर के सि

सल्यान कपुरकोटको एक विद्यालयमा पक्की भवन निर्माण भएपछि पठनपाठनमा सहज भएको छ । कपुरकोट ४ मा रहेको प्राथमिक विद्यालय क्यूरेनीमा दुई कोठे पक्की भवन निर्माण भएपछि पठनपाठन सहज हुने विश्वास लिइएको छ । भवनको सोमबार कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा १६ लाख रुपैयाँ विनियोजन गरेको थियो । साथै १३५ घरधुरिले दुई दिन सम्म श्रमदान समेत गरेर भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक डिल बहादुर थापाले जनाए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सेनले भौतिक रुपमा सबल भएमा शिक्षाको गुणस्तर वृद्धि हुने विश्वास व्यक्त गरे । उनले विद्यालयमा भौतिक पूर्वाधार निर्माण, जजनशक्ति व्यवस्थापन, पुस्तकालय स्थापना, कक्षा कोठा व्यवस्थापन लगाएतका विभिन्न क्षेत्रमा गाउँपालिकाले निरन्तर काम गरिरहेको बताए ।

यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, वडा नम्बर ४ का वडा अध्यक्ष हरिलाल पुन, शिक्षा शाखाका रमेश कुमार आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष खड्क सिंह ठकुरी लगाएतले बोल्दै विद्यालय भवनको सदुपयोग गरि शैक्षिक गुणस्तर बढाउनतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका उपाध्यक्ष शंकर केसी, वडा नम्बर ४ का वडा सदस्य सेतु सार्की, पूर्व विव्यस अध्यक्ष कर्ण बहादुर बुढा, चन्द्र प्रकाश बुढा, गणेश विक लगाएतको पनि उपस्थिति थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बुढाको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रमको सञ्चालन प्रधानाध्यापक डिल बहादुर थापाले गरेका थिए ।।

प्रकाशित मिति : २०७८ कार्तिक २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस