आज मगर समुदायले ४०औँ एकता दिवस मनाउँदैछन्

सल्यान- आज मगर समुदायले ४०औँ एकता दिवस मनाउँदैछन् । २०३९ साल फागनु १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो ।

यसैको सम्झनामा हरेक वर्ष फागुन १५ गते मगर सङ्घ र सम्बन्धित सङ्घ संस्थाले एकता दिवसका रुपमा मनाउने गर्छन् ।

मगर सङ्घका संस्थापक महासचिव सुरेश आले मगरका अनुसार २०१२ सालमै मगर समाज सुधार समितिको नाममा गुल्मीको भार्सेमा मगरहरुको पहिलो सङ्गठन बनेको भनिए पनि मगर सङ्घले २०३९ साल फागुन १५ लाई नै सङ्घको स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । नेपाल मगर सङ्घका पूर्वअध्यक्ष झकबहादुर थापाको निधन भएकाले ४०औँ राष्ट्रिय एकता दिवसलाई शोकका रुपमा मनाउन लागेको सङ्घले जनाएको छ ।

थापाको यही फागुन ११ गते उपचारको क्रममा काठमाण्डौमा निधन भएको थियो । दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेका स्थानीय तहले आज सार्वजनिक बिदा समेत दिएका छन् । पाल्पामा १०वटै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस