साढे ६ अर्बको ठेक्का सेटिङमा मुख्यमन्त्री के सी कै संलग्नता l

१६ चैत्र २०७८ ।

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्कामा भएको मिलेमतोमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीकै संलग्नता देखिएको छ ।

मूल्य अभिवृद्धि कर र कन्टिन्जेन्सी खर्चसहित ६ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ लागतको भवन बनाउन पहिल्यै कम्पनी छानेर फर्जी प्रतिस्पर्धाका लागि ठेक्का आह्वान गरिएको थियो ।

सेटिङ’ भएको स्वीकार्दै गत प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनन्तराज घिमिरेले ठेक्का रद्द गर्नुका साथै पदबाट राजीनामा दिइसकेका छन् ।

तर अस्पताल भवन निर्माण ठेक्का दिने निर्णय प्रक्रियामा घिमिरे मात्र होइन, प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुकै संलग्नतामा भएको पाइएको छ ।

२ फागुन २०७८ मा मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पूर्वाधार विकास समितिको बैठकले अस्पताल भवन ठेक्कामा लगाउने, लागत अनुमान स्वीकृत गर्ने र बोलपत्र आह्वानका लागि प्राविधिक मापदण्ड तोक्ने निर्णय गरेको थियो ।

उक्त बैठकमा निमित्त प्रमुख प्रदेश सचिव राजेन्द्र थापा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव नरेन्द्र राना, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री घिमिरे, प्रदेश पूर्वाधार विकास प्राधिकरणका सीईओ घिमिरे सहभागी थिए । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, प्रदेशका मुख्य न्यायधिवक्ता श्रीकृष्ण सुवेदी र प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रशासनिक विज्ञ दिलिप भट्टराई आमन्त्रित सदस्यका रुपमा उपस्थित थिए ।

बैठकको माइन्यूटको निर्णय नम्बर ३ मा ६ अर्ब ५९ करोड ६३ लाख १४ हजार १९९ रुपैयाँ २२ पैसा लागत अनुमान स्वीकृत गर्ने निर्णय भएको छ ।

साभार online khabar .

प्रकाशित मिति : २०७८ चैत्र १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस