
१ भदौ २०७९
बुटवलको एक होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्षिय उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षिय महिला होटलमा बास बसेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरु आइतबार राति सँगै बसेका थिए । सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।