१६ भदौ
रोल्पामा दम्पतीको हत्यामा संलग्न व्यक्ती अझै पत्ता नलागेको प्रहरीले बताएको छ । जिल्लाको माडी गाउँपालिका–३ तालाबाङमा एक दम्पतीको विभत्स हत्या गरिएको अवस्थामा फेला परेपछि हत्यारा पत्ता लगाउन नेपालगंगबाट तालिम प्राप्त कुकुर लगिएको थियो । तालिम प्राप्त कुकुर सहितको टोली बुधबार साँझ पुगेपनि अनुसन्धानको काम भने आज बिहानदेखि सुरु गरिएको थियो ।
कुकुरले हत्या भएको घरवरपर मात्र घुमेकाले घटना थप रहस्यमय भएको ईलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवराज भट्टाईले जानकारी दिनुभयो । परिवर्तन गाउँपालिका – २ कुन्वाङ राङसी घर भएका २२ बर्षका दुर्गाबहादुर पुन अन्दाजी ३८ बर्षकी श्रीमती पार्बतीसंग करिब डेढ महिना अघि देखि तालाबाङमा बस्दै आएको प्रहरीले बताएको छ ।
पुन दम्पती जय बहादुर डाँगीले बनाएको टहरामा बसेर ज्यालामज्दुरी गरेर बस्ने गरेका थिए ।
हत्या गरिएकी श्रीमतीको बास्तविक नाम, थर र ठेगाना नखुलेका कारण घटनामा संलग्न व्यक्तिको पहिचान गर्न केहि कठीनाई भइरहेको प्रहरीले बताएको छ । आफुहरुलाई बुधबार दिउँसो खबर आएपछि गएर हेर्दा १४ गते राती नै दुबै जनाको हत्या गरिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । दुबैजना बस्दै आएको घर देखि अन्य घरहरु टाढा भएको र मकै बारी भएकाले स्थानीयले थाहा नपाएको प्रहरीले बताएको छ । धारिलो हतियार प्रयोग गरेर विभत्स रुपमा हत्या गरिएको प्रहरीले बताएको छ ।