क्याम्पस पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

काठमाडौ ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले दुर्गम क्षेत्रका सरकारी वा सामुदायिक क्याम्पसमा संस्थामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ । केन्द्रले यही १७ गतेबाट चुलो वितरण गर्न लागेको हो ।

छनोट मापदण्डबमोजिम २४ दुर्गम जिल्लाबाट छनोट भएका २ हजार ८ सय ६५ विद्यार्थीलाई चुलो वितरण गर्ने भएको हो । केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकालले दुर्गम घर भएर काठमाडौं उपत्यकामा घर भाडामा लिई राजधानीका क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीलाई विद्युतीय चुलो वितरण गर्न लागेको जानकारी दिनुभयो ।

विद्युतीय चुलो पवद्र्धन गर्ने उद्देश्यले सम्बन्धित विद्यार्थीबाट नेपाली नागकिताको प्रतिलिपि, शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र र सिफारिसका आधारमा चुलो वितरण गर्न लागेको हो ।केन्द्रले आह्वान गरेको सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीलाई पुस १७ गतेबाट चुलो वितरण गर्न लागेको हो । केन्द्रले आइतबारदेखि बिहीबार बिहान ११ देखि ४ बजेसम्म चुलो वितरण गर्ने भएको छ । केन्द्रले गत वर्ष जारी गरेको नवीकरणीय ऊर्जा अनुदान नीति–२०७८ अनुसार चुलो वितरण गर्न लागेको जनाएको छ ।

केन्द्रका उपकार्यकारी निर्देशक ढकालले गत वर्ष चुलो नआएका कारण यो वर्ष वितरण गर्न लागेको जानकारी दिनुभयो । सरकारले सन् २०३० सम्म सबै जनतालाई स्वच्छ, भरपर्दो र सर्वसुलभ रूपमा नवीकरणीय ऊर्जा उपलब्ध गराउने दीर्घकालीन लक्ष्यअनुसार चुलो वितरण गर्न लागेको केन्द्रले जनाएको छ ।केन्द्रले जारी गरेको नीतिको अनुसूची–१ अनुसार अति दुर्गम र दुर्गम मानिएका रूकुम पूर्व, रूकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, दैलेख, बाजुरा, बझाङ र दार्चुलाका घर भई उपत्यकाका घरमा भाडामा बस्ने र उपत्यकाकै सामुदायिक र सरकारी क्याम्पसमा अध्ययन गर्ने सबै विद्यार्थीले निःशुल्क विद्युतीय चुलो पाउनेछन् ।

अनुसूची अनुसार सोलुखुम्बु, मनाङ, मुस्ताङ, ताप्लेजुङ, संखुवासभा, दोलखा, रसुवा, गोरखा, सिन्धुपाल्चोक र धादिङ जिल्लाका ‘क’ र ‘ख’ वर्गमा पर्ने दुर्गम क्षेत्रका विद्यार्थीले विद्युतीय चुलो पाउनेछन् । केन्द्रका उपकार्यकारी निर्देशक ढकालले विद्युतीय चुलो पाउने सबै विद्यार्थीको नाम सार्वजनिक गरिसकेको बताउनुभयो ।

केन्द्रले पुस १७ देखि माघ २ गतेसम्म केन्द्रको मुख्यालयबाट चुलो वितरण गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । जसअनुसार दैनिक सय जनाको दरले चुलो वितरण गर्ने तालिका रहेको जानकारी गराउँदै उपकार्यकारी निर्देशक ढकालले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘केन्द्रले आह्वान गरेको सूचनाको आधारमा मापदण्डको आधारमा विद्यार्थी छनोट गरेका हौं ।’

प्रकाशित मिति : २०७९ पुष १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस