तुलसीपुरमा एनआईसी एशिया बैंकको खाताबाट २ लाख चोरी

पुष १३, तुलसीपुर ।  दाङको तुलसीपुरमा रहेको एनआईसी एशिया बैंकको खाताबाट २ लाख रुपैयाँ चोरी भएको छ । मंगलबार बिहान एनआईसी एशिया बैंकको कर्मचारी भन्दै टेलिफोन गरेर खाता र पासवर्ड नम्बर मागेको आधा घन्टाभित्र ०६५४१५११०४८७९००१ नम्बरको खाताबा २ लाख २० रुपैयाँ चोरी भएको पिडित ज्ञानबहादुर चौधरीले जानकारी दिनुभयो । बैंकको कर्मचारी बताउने व्यक्तिले तपाईंको खाता पेन्डिङमा रहेको र अपडेट गर्नुपर्ने भन्दै खाता र वान टाइम पासवर्ड नम्बर मागेको थियो ।

सुरुमा एनआईसी एशिया बैंक नामको मेसेन्जरबाट चौधरीसँग कुरा गरेर फोन गरेपछि विश्वासको आधारमा खाता र वान टाइम पासवर्ड उपलब्ध गराएको चौधरीले बताउनुभयो । पैसा निकालेको थाहा पाउने बित्तीकै एनआईसी एशिया बैंकमा पुगेका चौधरीलाई सिटिजन बैंकमा रकम ट्रान्सफर भएको जानकारी बैकले दिएपछि त्यहाँ पुगेका थिए ।

त्यहाँबाट पनि नबिल र अन्तमा बैंक अफ काठमाण्डौमा पुग्दा भित्र प्रवेश गर्न नदिएपछि फर्किएको चौधरीले बताउनुभयो । दंगीशरण  गाउँपालिका –५ मिरौली निवासी चौधरीले तुलसीपुरको बसपार्कमा श्रीराम किराना पसल सञ्चालन गर्दै आउनुभएको छ । यता बैंकका प्रमुख राजीव वलीले बैंकको यसमा कुनै दोस नभएको बताउनुभयो ।  सेवा ग्राहीले आफ्नो वान टाइम पासवर्ड अपरिचित व्यक्तिलाई दिएका कारण २ लाख रुपैयाँ हराएको बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ पुष १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस