सभामुखको लाइनमा एमाले नेताहरू

सत्ता गठबन्धनको भागबण्डाअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) को भागमा परेको सभामुख पदका लागि एमाले पार्टीभित्र लामो लाइन लागेको छ । शुरूमा मन्त्रीको दाबी गरेका एमाले नेताहरू उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लिएपछि एकाएक पछि हटेर सभामुख ताक्न थालेका हुन् ।

पार्टीले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधान तथा अर्थमन्त्री बनाएपछि एमालेमा पटक–पटक मन्त्री भइसकेका नेताहरू सरकारमा सहभागी हुन अनिच्छुक देखिएका हुन् । सरकारको चौथो वरीयतामा भर्खर राजनीतिमा आएका रविलाई राखेपछि वरीयताक्रम अनुसार तल पर्ने पीरले पुराना नेताहरू मन्त्री हुन छाडेर सभामुखको पद ताक्न थालेका हुन् । एमालेका नेता विशाल भट्टराइले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीले विश्वासको मत लिइसकेपछि आफ्नो भागमा परेका पदहरूका सन्दर्भमा पार्टीले निर्णय गर्ने छ,’ उहाँले भन्नुभयो– ‘धेरै साथीहरू मन्त्री भएर जाने सोचमा हुनुहुन्थ्यो । अहिले उहाँहरू सरकारमा जुनियर व्यक्ति उपप्रधानमन्त्री भइसकेपछि व्यापक हुनुभएको छ ।’

सरकारले विश्वासको मत लिइसकेपछि सभामुखको निर्वाचन हुनेछ । तत्काल कायम भएका प्रतिनिधि सभा सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुनेछन् । पहिलो प्रस्तावमा बहुमत प्राप्त भएपछि बाँकी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने छैन । एमालेका उपमहासचिव गुरुङलाई पार्टी अध्यक्ष ओलीको विश्वास पात्रका रूपमा हेरिएकाले सभामुखमा उहाँको सम्भावना बलियो रहेको एक नेताले बताए । सभामुख स्पष्ट वक्ता, कानुनको विषयमा जानकारी राख्ने र न्याय दिने विषयमा सकेसम्म विवेक प-याउन सक्ने हुनुपर्छ भन्ने सामान्य नियम भएकाले पनि गुरुङ सो पदका लागि स्वीकार्य हुन सक्ने ती नेताको भनाइ छ ।

प्रकाशित मिति : २०७९ पुष २० गते बुधवार
प्रतिक्रिया दिनुहोस