सल्यान श्रीनगर बजारमा डोजर चल्दै

माघ ०२ सल्यान।श्रीनगर बजार नजिक रहेका सरकारी पर्ती एलानी जग्गामा बनेका घर टहरा शारदा नगरपालिका का मेयर प्रकाश भन्डारीको नेतृत्वमा डोजर लगाएर हटाउन सुरु गरिएको छ।

आधुनिक बस पार्क बनाउनको लागि अबैध रुपमा बनेका घर टहरा ३५ दिने अल्टिमेटम सुचना सकिए लगतै माघ २ अर्थात आज बिहान ७ बजे देखि अस्थायी घर टहरा हटाउन सुरु गरिएको हो।

गत मंसिर २६ गते नगरपालिकाले बसपार्क क्षेत्रमा ऐलानी जग्गामा भएका घर टहराहरु हटाउन ३५ दिने सुचना जारी गरेको थियाे ।आजको दिनसम्म अटेरी गरेर बसपार्क क्षेत्रमा रहेका आफ्ना घर टहरा धेरैजसोले नहटाएकोले आफु बाध्य भएर डोजर लिएर बस्तीमा आएको शारदा नगरपालिका सल्यानका नगर प्रमुख प्रकाश भण्डारीले बताउनु भयो  । उहाँले भन्नुभयो,’ नगरले दिएको अन्तिम अल्टिमेटम सकिदा पनि ऐलानी जग्गामा भएका घरटहरा हटाउन स्थानियले आनाकानि गर्नुभयो,हामी बाध्य भएर अहिले अस्थायी संरचना भत्काउन लागेका छौँ ।’

घर टहरा भत्काउने कार्य सकिने बित्तिकै नयाँ बसपार्क निर्माणको कामको थालनी गरिने  बताउनु भयो । विगतमा बसपार्क निर्माणको लागि संघ तथा प्रदेशबाट आएको बजेट तीन पटक फ्रिज भएको र अहिले नगरपालिकाले आफ्नै स्रोतबाट एक करोड खर्च विनियोजन गरेको बताउनुभयो । अब थप वजेटका लागि डिपिआर सहित प्रदेश र केन्द्र सरकारसँग माग गर्ने  नगर प्रमुख प्रकाश भण्डारीको भनाइ छ ।

बसपार्क क्षेत्रमा निर्माण भएका ग्यारेजहरु रेशमज्युलामा सार्न लागिएको र रेशमज्यूलामा अटो भिलेज बनाईने  शारदा नगरपालिकाले जनाएको छ ।बसपार्क क्षेत्रमा ऐलानी जग्गामा करिब ८३ वटा अस्थायी घरटहरा बनाईएका थिए। जसमध्ये   घर जग्गा नभएका वास्तविक सुकुम्वासी जम्मा ३ घरपरिवार मात्रै रहेको नगरपालिकाको भनाइ छ।नगरपालिकाले वास्तविक सुकुम्वासीको उचित व्यवस्थापन गर्ने, घरमुली नभएका, आर्थिक रुपमा विपन्न भएका परिवारलाई प्राथामिकता दिएर व्यवस्थापन गर्ने र अस्थायी घरटहरा हटाउने जनाएको छ ।

यता आफुहरुको लाखौं धनजनको क्षति भएको तर क्षतिपूर्ति त परको कुरा आफ्नो कुनै कुराको सुनुवाइ नगरी नगरपालिकाले एक्कासी नियम बनाएर आफ्नो लाखौंका घर टहरामा नगर  डोजर चलाएको भन्दै स्थानीयले गुनासो व्यक्त गरेका छन्। 

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस