खेल मैदानको अभाबका बिचपनी सल्यानमा खेलकुद गतिविधि बढ्दै

सल्यान, १३ माघ । 
पर्याप्त व्यवस्थापन, मैदानको अभाव लगायतका समस्याकाबीच पनि सल्यानमा खेलकुदका गतिविधि बढ्दै गएका छन् । विभिन्न मेला, अवसरका बेला हुने खेल क्रियाकलाप पछिल्लो समय बढ्दै गएका हुन् । जिल्लास्थित स्थानीय तहहरूले वडा स्तरिय तथा पालिकास्तरिय खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएका छन् भने जिल्लास्तरमा पनि बेला बखत यस प्रकारका प्रतियोगिताहरू सञ्चालन हुदै आएका छन् ।
सल्यान जिल्ला स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि माघ २० देखि सुरु हुँदैछ भने पालिका स्तरिय रनिङ शिल्ड कतिपय स्थानीय तहहरूले सम्पन्न गरिसकेका छन् भने केहीले तत्काल गर्दैछन् । जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको ब्यबस्थापन तथा निर्देशन समितिको बैठक जिल्ला खेलकुद बिकाश समिति सल्यानको आयोजनामा बसेर आवश्यक तयारी गरिसकेको छ ।
यसै क्रममा त्रिवेणी गाउँपालिकाले यहि माघ १४, १५ र १६ गते पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए । यस्तै कालिमाटी गाउँपालिकाले यहि माघ १५ देखि १८ सम्म र कुमाख गाउँपालिकाले पनि यहि माघ १६ देखि १८ सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्दैछ ।
विद्यालय स्तरका खेलाडिको आन्तरिक खेल क्षमता प्रस्फुटन गर्ने, बिद्यालयहरूको बिचमा एक अर्कामा सहयोग तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्ने उदेश्य सहित पालिकाहरूमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुदै आएको छ । विगतमा खेलकुदलाई एउटा सौख र मनोरञ्जनका रूपबाट मात्रै हेर्ने गरेको पाइए पनि हिजो आज खेल मानिसको स्वास्थ्य संग पनि प्रत्यक्ष जोडिएको विषयमा धेरैजसो जानकार छन् । खेलको महत्व र त्यसका लाभलाई बुझेर खेलप्रति सबै उमेरका समूहहरू सामेल र सहभागी बनिरहेको देखिन्छ । खेल मानव जीवनको एक महत्वपूर्ण अंग बनिसकेको छ भने हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्वास्थ्यसँग खेलकुदको गहिरो सम्बन्ध रहेको जानकारहरू बताउँछन् ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस