कर्णाली प्रदेशले खेलाडीका लागि अाफ्नाे छुट्टै पाेेेसाक निर्माण गरेको छ

सल्यान, ०२ फागुन।

जर्सीमा धार्मिक, पर्यटकीयस्थल, दुर्लभ वन्यजन्तु र बहुमूल्य जडिबुटी अंकित

कर्णाली प्रदेशका खेलाडीका लागि कर्णालीको पहिचान झल्कने पोसाक तयार गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीका लागि जर्सी र मार्चपासमा लगाउने पोसाक तयार पारेको हो । अब प्रदेशको पहिचान र चिनारी झल्किने पोसाकमा कर्णालीमा खेलाडी मैदान उत्रनेछन् । 

फागुन दोस्रो साताबाट देशमा हुने जुनसुकै प्रतियोगितामा भाग लिँदा खेलाडीले कर्णाली झल्किने पोसाकमा सहभागिता जनाउने छन् । कर्णाली खेलकुद परिषद्ले बोर्ड बैठकबाट कर्णालीको पहिचान झल्किने जर्सी र पोसाक बनाउने निर्णय गरेअनुसार कर्णालीका खेलाडीका लागि खेलकुद जर्सी र पोसाक तयार पारिएको परिषद्का सदस्यसचिव विश्वमित्र सञ्ज्यालले बताए ।

कर्णालीमै पाइने अल्लो प्रयोग गरेर तयार पारिएको पोसाक खेलाडीले मार्चपासका बेला लगाउने छन् । कर्णालीकै धार्मिक, पर्यटकीयस्थल, दुर्लभ वन्यजन्तु याक र बहुमूल्य जडिबुटी यार्सा अंकित जर्सी रहेको छ । जर्सीमा नेपालको झण्डा, परिषद्को लोगो, नेपालको सबैभन्दा लामो कर्णाली नदीको आकृति पनि समावेश गरिएको छ । रातो र नीलो गरी जर्सी दुई रंगको तयार पारिएको छ । पोसाक अल्लोको रंगकै छ ।

खेलाडीले प्रतियोगिता खेल्दा कर्णाली झल्कियोस् भनेर कर्णालीको छुट्टै खेल पोसाक बनाइएको सदस्यसचिव सञ्ज्यालले बताए । उनले भने, ‘हाम्रो जर्सी र पोसाक देख्नेबित्तिकै कर्णालीका खेलाडी हुन् भनेर थाहा हुनेछ । देशभित्र हुने सबै प्रतियोगितामा अब कर्णालीका खेलाडीले यही जर्सी र पोसाक लगाउनेछन् । यो जर्सी र पोसाकलाई परिषद्ले कानुनी रूपमै राष्ट्रिय खेलकुद परिषद्मा दर्ताको तयारी गरेको छ ।’ तयार पारिएको जर्सी र पोसाक खेलाडीलाई वितरण गरिने जनाइएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस