कर्णालीकाे खेल पाेशाक राष्ट्रिय खेलकुद परिषदमा दर्ता

सल्यान, ०२ फागुन।

कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीका खेलाडीको लागि तयार पारेको खेल पोशाकलाई राष्ट्रिय खेदकुद परिषदमा औपचारिक रुपमा दर्ता गराएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको उपस्थितिमा खेल पोशाक दर्ता गराएका हुन् ।

सरकारी कर्मचारी ,नेपाल प्रहरी, बैंकका कर्मचारी सबैको कोड हुने गरेको र कर्णाली प्रदेशका खेलाडीहरुको लागि पनि आफ्नो छुट्दै कोड बनाएको उनलको भनाइ छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदले राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन सम्बन्धि निर्देशिका २०७९ को परिच्छेद ५ को दफा १६ मा उल्लेख भए बमोजिमको खेलाडी पोशाक प्रयोजनार्थ आगामी बर्ष मिति २०८१ मंसिर २ देखि ९ गते सम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि र राष्ट्रपति रनिङ शिल्ड संचालन सम्बन्धि निर्देशिका २०७०को परिच्छेद ३ को दफा १२ को उपदफा ११ वमोजिमको खेलाडी पोशाक प्रयोजनार्थ आफ्नो खेल पोशाक दर्ता प्रक्रियाको लागि राष्ट्रिय खेलकुद परिषदलाई अनुरोध गरेको थियो ।
कर्णाली प्रदेशले दर्ता गराएको खेलाडी पोशाकको नमुना
१. खेलाडी गेम जर्सिः कर्णालीमा पाईने बहुमुल्य जडिवुटी यार्सागुम्बा, दुर्लभ जनावर याक र धार्मिक पर्यटकीय क्षेत्र हिमाल, रारा, पंचदेवल, काँक्रेविहार र कर्णाली नदिको चिनारी अंकित निलो आकाशे रंग र रातो नेपाली झन्डा रंग मा २ वटा गेम जर्सि सेट।
२. खेलाडी मार्चपास पोसाकःकर्णालीमा उत्पादन हुने अल्लो तथा भाँगोको रेशाबाट आफ्नो मौलिकताको सफारि सुट, ह्याट र बेल्ट सेट ।

प्रकाशित मिति : २०८० फाल्गुन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस