मेला व्यवस्थापनको तयारी तीव्र पारिदै छत्रेश्वरी शक्तिपिठमा महाशिवरात्रि मेला

सुन्दर र आकर्षक धार्मिक गन्तव्य सल्यानको छत्रेश्वरी शक्तिपिठमा महाशिवरात्रिको दिन हुने पुजा अर्चना र मेलालाई व्यवस्थित बनाउने विषयमा बैठक सम्पन्न भएको छ । छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्री सहित आइतबार छत्रेश्वरी शक्तिपिठ क्षेत्र विकास समितिको बैठक सम्पन्न भएको हो ।

महाशिवरात्रिको दिनमा छत्रेश्वरीमा देशका विभिन्न स्थानबाट हजारौँ भक्तजन तथा दर्शनार्थीहरु आउने भएकाले आवश्यक व्यवस्थापनका लागि स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय तथा सरोकारवालाहरूको उपस्थितिमा बैठक बसेर महत्त्वपूर्ण निर्णयहरू गरिएको समितिका अध्यक्ष प्रेम बहादुर भण्डारीले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिका ६ स्थित मन्दिर सम्म पुग्ने सडकको स्तरोन्नति, सुरक्षा प्रबन्ध, स्वयंसेवक परिचालन, सवारी पार्किङ, भण्डारा सञ्चालन, सहज रुपमा पूजा र दर्शन लगायतको व्यवस्थापनका लागि छलफल र निर्णय गरिएको उनले बताए । धार्मिक आस्थाको केन्द्र छत्रेश्वरीको संरक्षण, विकास र प्रवर्द्धनका लागि विगत देखि नै स्थानीय सरकारले योजनाबद्ध काम गरिरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले यही फागुन २५ गते लाग्ने विशेष मेलालाई व्यवस्थित बनाउन सबैको चासो र मिहेनत आवश्यक रहेको बताए । मेला व्यवस्थापनका लागि गाउँपालिकाले यस वर्ष पनि सहयोग गर्ने भन्दै उनले मेलामा गाँजा, भाङ, धतुरोजस्ता नशालु पदार्थ सेवनलाई कडाइका साथ प्रतिबन्ध गरिने बताए । यसमा प्रहरीले मसिनो ढङ्गले निगरानी गर्ने र नशालु पदार्थ प्रयोगकर्ता र विक्रिवितरण गर्ने सबैलाई तत्काल कानुनी कारबाहीमा लैजाने बताएको छ । बैठकमा गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले छत्रेश्वरीको दर्शनका लागि उचित प्रबन्धका लागि समिति सँगै स्थानीय सरकार तथा स्थानीय नागरिकले प्रभावकारी भूमिका खेल्नुपर्ने बत्ताइन् । वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम बुढाले मेलाको बेला हुन सक्ने अवाञ्छित क्रियाकलाप र विकृतिलाई रोक्नुपर्ने धारणा व्यक्त गरे । इलाका प्रहरी कार्यालय लुहामका प्रमुख इन्स्पेक्टर रेसमलाल पौडेल सहित ट्राफिक प्रहरीका प्रतिनिधि लगाएकाले सुरक्षा प्रबन्ध तथा सवारी आवागमनको व्यवस्थापनका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताएका थिए । सत्ययुगमा महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर ब्रह्माण्डको भ्रमण गराउने क्रममा सतीदेवीका बाँकी रहेका सम्पूर्ण अङ्ग छत्रेश्वरीमा पतन भएको श्री स्वस्थानी ब्रतकथामा उल्लेख छ ।

साथै उक्त स्थानमा पिचाशेश्वर महादेव र छत्रेश्वरी भगवती प्रकट भएको किंवदन्ती छ । छत्रेश्वरी शत पीठ नेपालकै पशु बली नचढ्ने मन्दिरको रुपमा प्रचलित छ । यहाँ शिवरात्रिको बेला नेपालका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजनहरू आउने गरेको छत्रेश्वरी क्षेत्र विकास समितिका सचिव तीर्थराज डाँगीले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका वडा नम्बर ६ स्थित रापती लोक मार्गको घोप्टे अमराईदेखि करिब चार सय मिटरको दूरीमा शारदा नदीको छेउमा शंखमुल छ । यहाँ शंखपार्क पनि छ । शंखमूलदेखि करिब तीन किलोमिटर अगाडि पिचाशेस्वर महादेवको मन्दिर रहेको छ भने शंखमूलदेखि चार किलोमिटरको दूरीमा छत्रेश्वरी भगवती मन्दिर अवस्थित छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस