सल्यानमा २० हजार बढी बालबालिकाले लगाए दादुरा–रुबेला खोप

सल्यान,२७ फागुन।

सल्यानमा साढे २० हजार बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन् । फागुन १० गतेदेखि १४ गतेसम्म पहिलो चरणमा र फागुन १८ गते देखि २२ गतेसम्म दोस्रो चरण गरेर जिल्लामा सञ्चालित दादुरा रुबेला खोप अभियानमा जिल्लाभर २० हजार पाँच सय ७३ जना बालबालिकाले दादुरा रुबेलाविरुद्धको खोप लगाएका हुन् ।

जिल्लाभर १९ हजार पाँच सय ३० बालबालिकालाई खोप लगाउने लक्ष लिइएको थियो तर लक्ष्यभन्दा पाँच प्रतिशतबढी अर्थात थप एक हजार ४३ बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका खोप कार्यक्रम अधिकृत तारा रिजालले जानकारी दिनुभयो । ‘दादुरा रुबेला खोप अभियान सफलतापूर्वक सम्पन्न भएको छ, यसपटक हामीले लक्ष्यभन्दा पाँच प्रतिशतबढी बालबालिकालाई खोप लगाउन सफल भएका छौं’– उहाँले भन्नुभयो ।

जिल्लामा रहेका नौ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समावेश गरिएको उहाँको भनाइ छ । दादुरा रुवेलाको संक्रमण न्यूनीकरण गर्न तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा पाँच सय ५४ केन्द्रबाट खोप लगाउने व्यवस्था गरी सोहीअनुसार अभियान सञ्चालन भएको थियो । खोप अभियानमा जिल्लाभर पाँच सय ५४ जना स्वास्थ्यकर्मी र एक हजार एक सय आठजना स्वयंसेवक परिचालित भएका थिए ।

कार्यालयका अनुसार जिल्लाको कपुरकोट गाउँ‘पालिकामा नौ महिनादेखि पाँच वर्षमुनिका एक हजार चार सय ६५ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार तीन सय २० बालबालिकाले दादुरा रुबेलाबिरुद्धको खोप लगाएका छन् । यस्तै त्रिवेणी गाउँपालिकामा एक हजार दुई सय १९ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार तीन सय ९६, कालीमाटी गाउँपालिकामा एक हजार आठ सय ८२ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा एक हजार आठ सय १३ बालबालिकाले खोप लगाएका छन् ।

यस्तै छत्रेश्वरी गाउँपालिकामा एक हजार छ सय ५३ लक्ष्य रहेकोमा एक हजार सात सय ८० जना बालबालिका, शारदा नगरपालिकामा दुई हजार पाँच सय पाँच लक्ष्य रहेकोमा दुई हजार छ सय ८३ जना बालबालिका, बनगाड कुपिण्डे नगरपालिकामा दुई हजार नौ सय ४७ लक्ष्य रहेकोमा तीन हजार एक सय ३१ जना बालबालिकाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन् । यस्तै दार्मा गाउँपालिकामा एक हजार आठ सय ४० लक्ष्य रहेकोमा एक हजार सात सय ७७ जना बालबालिका, कुमाख गाउँ‘पालिकामा दुई हजार एक सय ८२ लक्ष्य रहेकोमा दुई हजार दुई सय ५२ जना बालबालिका, सिद्ध कुमाख गाउँपालिकामा एक हजार ८२ लक्ष्य रहेकोमा एक हजार एक सय ४२ जना बालबालिका र बागचौर नगरपालिकामा दुई हजार सात सय ५५ लक्ष्य रहेकोमा तीन हजार दुई सय ८४ जना बालबालिकाले दादुरा रुबेला बिरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस