आफु भित्रकाे कलालाई देखाएर मनग्ये आम्दानि कमाउदै नीरज

सल्यान,२ चैत।

चितवनको कालिका नगरपालिका–५, पदमपुर स्थायी ठेगाना भई स्नातकोत्तरका लागि काठमाडौँ गएका नीरज खनाल पीपलको पातमा मान्छे तथा विभिन्न वस्तुहरुको आकृति बनाउँछन् । २५ वर्षका खनाल कोरोना महामारीमा लकडाउन हुँदा पीपलको पातमा विभिन्न मान्छे तथा वस्तुहरुको आकृति बनाएर चर्चामा आएका हुन् । पछि टिकटकले बिस्तारै उनको कामलाई धेरै जनासामु पु¥याउन सहज बनायो ।
जब स्नातकोत्तरको पढाइ सकेर यही कामलाई व्यवसायका रुपमा अगाडि बढाउन सुरू गरे तब सरकारले टिकटक बन्द गराइदियो । टिकटकका कारण सामाजिक सद्भाव खल्बलिएको भन्दै सरकारले गत कात्तिक २७ गते टिकटक नेपालभर चल्न नमिल्ने गरी बन्द गराएको हो ।
सरकारले टिकटक बन्द गरे पनि केही व्यक्तिले भिपिएनलगायत विभिन्न एपहरु प्रयोग गरेर टिकटक चलाइरहेका छन् । सरकारले बन्द गरेपछि आफूले भने चलाउनै छाडेको खनालले बताए ।
उनले विभिन्न कलाकार, खेलाडी, नेता एवम् सार्वजनिक व्यक्तिको आकृति पीपलको पातमा बनाएर सामाजिक सञ्जालमा राख्ने गर्छन् । उनले बनाएका उत्कृष्ट र आकर्षक आकृतिलाई धेरै जनाले मन पराएका छन् । टिकटक बन्द भएपछि पीपलको पातमा मान्छेको आकृति बनाएर बिक्री गर्ने उनको व्यवसाय चौपट भएको छ ।
‘टिकटक बन्द भएपछि ५० प्रतिशत बिजनेस डाउन भयो । पब्लिसिटी नै त्यहीँबाट भएको थियो’, उनले भने । अहिले उनले प्रचारका लागि फेसबुक र इन्स्टाग्राममा विभिन्न मान्छेका आकृतिको फोटो र भिडियो क्लिप अपलोड गर्ने गरेका छन् ।
‘टिकटकमा विकृति त बढेकै थियो । मान्छेले टिकटकलाई माग्ने ठाउँ बनाए, त्यसका लागि जे पनि गरिदिने गरे’, उनी भन्छन्, ‘तर टिकटकका लागि राम्रो नियम कानुन बनाएर खोल्दा उपयुक्त हुन्छ ।’
टिकटक व्यापार व्यवसाय प्रवद्र्धन, कलाको प्रदर्शन एवम् राम्रो ठाउँको प्रचारप्रसारका लागि एकदमै राम्रो प्लेटफर्म हुने उनी बताउँछन् । टिकटकबाट जनहितमूलक भिडियो क्लिपहरु पनि प्रसारण हुने गरेका थिए । टिकटकले सामाजिक विकृति बढाउन सहयोग गरेको भनिए पनि यसलाई नियमन गर्नुपर्ने एउटा पक्षको तर्क छ । टिकटक बन्द भएकै राम्रो हुने भन्ने पनि केही छन् ।
‘नेपाल सरकारले समेत निगरानी गर्ने गरी टिकटकको कार्यालय यहाँ खोल्नुपर्छ । नेपाली टिकटक प्रयोगकर्ताको निगरानी यहीँबाट गर्दा राम्रो हुन्छ’, उनले भने । टिकटकले केही दिनअघि नेपाल सरकारलाई पत्र पठाएर नेपालको कानुन पालना गर्ने, नेपाली भाषा जान्ने अनुवादक राख्नेलगायतका प्रतिबद्धता जनाएको थियो ।
‘सुरूमा त मैले आफ्नो रूचिका लागि बनाएको थिएँ । पछि प्रचार र माग बढ्दै गएपछि पकेट खर्च जोहो गर्नका लागि बिक्री गर्न पनि थालेको थिएँ’, उनले भने । उनले बाटो र खोलाको किनारमा भेटिएका पीपलका रुखबाट पात टिपेर ल्याउने गर्छन् । भोटे पीपलको पात ठूलो हुने भएकाले चित्र बनाउन सजिलो हुन्छ । ‘भोटे पीपलको पात देखेपछि टिपेर ल्याउने अनि जिपलक ब्यागमा प्रेस गरेर राखिहाल्ने गर्छु । नत्र सुक्खा भएर छिट्टै कुहिन्छ’, उनी भन्छन्, ‘पातमा सुरूमा मान्छेको आकृति पेनले आउटलाइन ड्रइङ गर्ने, त्यसपछि डिटेल नाइफले काटेपछि बल्ल आकृति दिने हो ।’
उनले पीपलको पातमा मान्छेको आकृति बनाउन आफैँ सिकेका हुन् । वनस्पति शास्त्रमा उनले स्नातकोत्तर गरेका छन् । विभिन्न मान्छेको आकृति उनले सामाजिक सञ्जालमा राख्ने गर्छन् । सामाजिक सञ्जालमा देखेपछि विभिन्न व्यक्तिले आकृतिका लागि उनलाई म्यासेज गर्छन् । जन्मदिनलगायत विभिन्न अवसरमा आफ्ना मान्छेलाई उपहार दिनका लागि पीपलको पातमा बनाइने आकृतिको माग हुने गरेको उनले बताए ।
टिकटकबाट प्रचारप्रसार हुँदा उनले पीपलको पातमा मान्छेको आकृति बनाएर मासिक ९० हजार रूपैयाँसम्म कमाउँथे । टिकटक बन्द भएपछि अहिले उनको मासिक आम्दानी ४० हजार रूपैयाँसम्म हुने गरेको छ । टिकटक बन्द भएपछि माग घटेको उनी बताउँछन् । ‘अहिले त फाटफुटमात्रै अर्डर आउँछ । अहिले मासिक ३० देखि ४० हजार रूपैयाँजति आम्दानी हुन्छ’, उनले भने ।
एउटा पातमा मान्छेको आकृति बनाएको उनले एक हजार ५०० रूपैयाँदेखि तीन हजार रूपैयाँसम्म लिन्छन् । आकृति तयार भइसकेपछि पात नकुहियोस् भन्नका लागि केमिकल राखेर सुकाइन्छ । त्यसपछि उक्त आकृतिलाई लेमिनेसन गरेर फ्रेममा राखिन्छ । यसरी फ्रेममा राखिएको आकृति कहिल्यै नकुहिने उनी बताउँछन् ।
हेटौँडाका अर्पण अर्याल नारायणगढमा मोबाइल पसल सञ्चालन गर्छन् । कुनै बेला मोबाइल पसलका कर्मचारी अर्पण अहिले मोबाइल पसलका सञ्चालक हुन् । उनले मोबाइल प्याराडाइज नामको पसल सञ्चालन गरेको १० महिनामात्रै भयो । टिकटकबाट आफ्नो पसलको प्रचारप्रसार बढाउँदै लगेका बेला सरकारले टिकटक नै बन्द गरिदियो ।
टिकटक बन्दको प्रभाव उनको व्यवसायमा पनि प¥यो । उनको विचारमा टिकटक बन्द भएपछि व्यापारमा ६० प्रतिशतले गिरावट आएको छ । टिकटकबाटै सम्पर्कमा आएर ग्राहकले मोबाइलका लागि अर्डर गर्थे । अर्डर आएपछि अनलाइनमार्फत पैसा लिएर उनले विभिन्न जिल्लामा समेत मोबाइल कुरियर गरेर पठाएका थिए ।
‘पहिलाको तुलनामा अहिले ६० प्रतिशत व्यापार डाउन छ । टिकटकबाट प्रचारप्रसार हुन नपाएपछि व्यापार खस्किएको छ’, उनले भने । टिकटक हेरेर मोबाइल किन्न आउने ग्राहकको संख्या राम्रै रहेको उनलाई सम्झना छ । ‘पसलमै आउन नसक्ने वा नभ्याउने ग्राहकले आफूले खोजेको सामग्री टिकटकमा देखेपछि अर्डर गर्ने गर्थे’, उनी भन्छन् ।
टिकटक बन्द हुनुअघि उनको टिकटकमा १० हजारभन्दा बढी फलोअर थिए । टिकटक बन्द भएपछि अफलाइन व्यवसाय प्रवद्र्धनलाई पनि अगाडि बढाउनुपर्ने रहेछ भन्ने कुरा बुझेको उनी बताउँछन् । टिकटकमै भर परेर बस्दा कतिपय व्यक्तिहरु बेरोजगार नै भएको समेत पाएको उनको भनाइ छ । यद्यपि, टिकटकले सामाजिक विकृति पनि फैलाएको उनी स्वीकार गर्छन् ।
टिकटकलाई नियमन गरेर खोल्नुपर्ने उनको तर्क छ । अश्लील सामग्री नियन्त्रणका लागि सरकारले मात्रै नभएर आमनागरिकसमेत सचेत हुनुपर्ने उनी बताउँछन् । सामाजिक सद्भाव कायम राख्ने दायित्व स्वयं टिकटक प्रयोगकर्ता र तिनका अभिभावकहरुको पनि हुने उनको तर्क छ ।

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस