अझै कुलोकै पानीको भर दैनिकी चलाउदै

सल्यान,४ चैत।

सल्यानको कालीमाटी गाउँपालिका–६ का स्थानीय कुलोकै पानी खान बाध्य छन् ।

वडाका भैंसी दमार, भलाइबास र बेल्टरी गाउँका स्थानीयले सिंचाईका लागि कुलोमा आएको पानी पिउन बाध्य भएका हुन् । बस्ती वरिपरी खानेपानीको मुहान नहुनु र टाढाबाट बस्तीमा खानेपानी ल्याउने कुनै योजना नबन्दा स्थानीयले सिंचाईका लागि ल्याएको पानी पिउँदै आएका छन् । स्थानीयका अनुसार गाउँनजिक खानेपानीका मुहान छैनन् । उनीहरुले खेतवारी सिञ्चित गर्नका लागि खोलाबाट दुईवटा कुलोमा मानव वस्तीसम्म पानी ल्याएका छन् । हो, स्थानीयले त्यही कुलोको पानी पिउँदै आएका छन् । स्थानीय भक्तबहादुर थापाले आफूहरुले करिब पाँच दशकदेखि कुलोको पानी पिउँदै आएको बताउनुभयो ।

‘बि.सं.२०२९ सालमा छरछरेलगायतका विभिन्न स्थानबाट बसाइ सरेर यहाँ आएका हौं, खोलाको छेउ, उर्वर भूमि, समथर भूभाग र उत्पादन पनि राम्रो हुने भएपछि यहाँ आयांै, जुन बेला हामी यहाँ आयौं, त्यो बेलादेखि नै यहाँ खानेपानीको समस्या थियो, पानी ल्याउन मुहानसम्म जाने हो भने दिनभर लाग्छ’– उहाँले भन्नुभयो– ‘त्यो बेलादेखि नै खेतबारीमा सिंचाई गर्न कुलोमा पानी ल्याएका थियौं अहिले पनि त्यही कुलोको पानी प्रयोग गर्दै आएका छौं ।’

उहाँका अनुसार विगतमा कुलोको पानी सफा नै थियो । मानवबस्ती कम थियो । तर अहिले कुलोको मुहान क्षेत्रमा वस्ती विस्तार हुँदै गएकाले पानी पनि दूषित भएको उहाँको भनाइ छ । ‘अहिले त मान्छेको बसाइ बाक्लो भयो, केही घरमा अझै शौचालय भेटिदैनन्, भएकाले पनि खुला शौच गर्छन्, यसले गर्दा बर्खाको समयमा पानी झन् दूषित हुन्छ तर हाम्रो बाध्यता हो, हामी यही कुलोकै पानी उपभोग गर्छौं’– उहाँले थप्नुभयो ।

अर्का स्थानीय बिर्बी रोकाले बाह्रै महिना कुलोको पानी पिउँदा स्वास्थ्यमा समस्या देखिने गरेको बताउनुभयो । ‘हामी बाह्रै महिना कुलोको पानी खान्छांै, बर्खामा पानी धमिलो हुन्छ, साना–साना खाल्टा बनाउँछौं, केही घण्टापछि माटोको लेदो एकातिर थिग्रिन्छ, अनि हामी यसैलाई खान्छौं’– उहाँले भन्नुभयो– ‘दूषित खानेपानीकै कारण बर्खामा झाडापखाला, आउँ, हैजा, रुघाखोकी लाग्ने त सामान्य भइसक्यो ।’ उहाँले कुलोको पानी बर्खामा बढी धमिलो हुने भएकाले कतिपयले जुम खोलाको छेउमा खाल्टा बनाएरै पानी निकाल्ने गरेको बताउनुभयो । उहाँका अनुसार बस्तीदेखि टाढा रहेको सिस्नेरीमा खानेपानीको मुहान छ । त्यस मुहानको पानी वस्तीसम्म ल्याउँदा प्रशस्त हुन्छ । तर पानी बस्तीमा ल्याउने न कुनै योजना छ, न त बजेट नै छ । जसका कारण आफूहरु खानेपानीकै लागि कुलोको भर पर्नुपरेको उहाँको भनाइ छ ।

यस क्षेत्रमा २७ घरधुरी रहेका छन् । उनीहरुले खेतबारीमा सिंचाई गर्ने, बस्तुभाउलाई खुवाउने र आफूले पिउने पानी नै कुलोको हो । गाउँपालिकाकै विकट र टाढाको बस्ती भएकाले पनि सरकारले खानेपानी योजना निर्माणमा ध्यान नदिएको स्थानीयको बुझाइ छ । यी बस्तीदेखि वडा कार्यालय भएको बस्ती आधा घन्टाको दुरीमा रहेको छ । उक्त बस्तीका घर–घरमा धारा भए पनि आफ्नो बस्तीमा भने अहिलेसम्म योजना सञ्चालन हुन नसकेको स्थानीय बताउँछन् । यता कालीमाटी गाउँपालिका–६ का वडाध्यक्ष टेकराज पुलामीले यस क्षेत्रका स्थानीयलाई सफा र स्वच्छ खानेपानीको पहुँ‘चमा पु¥याउन पहल भइरहेको बताउनुभएको छ । ‘यहाँका स्थानीयले खानेपानीका लागि माग गर्दै आएका छन्, यहाँको मुख्य समस्या पनि खानेपानी हो, हामीले आउँदो वर्षमा निर्माण सम्पन्न गर्ने गरी खानेपानीको योजना निर्माण र बजेटको व्यवस्था गरेका छौं’– उहाँले भन्नुभयो– ‘आउँदो वर्षमा यहाँका तीनवटै बस्तीमा खानेपानी पु¥याउने हाम्रो लक्ष्य छ ।’

प्रकाशित मिति : २०८० चैत्र ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस