सल्यानमा विद्यार्थी तान्ने कसरतः पहिलो पटक सामुदायिक विद्यालयमा बस

सल्यान,७ बैशाख।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सल्यानका सामुदायिक विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छन् ।

जिल्लामा रहेका संस्थागत विद्यालयले मात्रै विद्यालयमा बस सेवा सञ्चालन गरेको बेला केही सामुदायिक विद्यालयले पनि यसै शैक्षिक सत्रबाट बस सेवा सञ्चालनमा ल्याएका हुन् । यसपटक जिल्लाका तीनवटा सामुदायिक विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका छन् । जसमा जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–५ शंखपिपल च्युरामा रहेको त्रिभुवन जनता माध्यमिक विद्यालय, कुमाख गाउँपालिका–२ रुमालगाउँमा रहेको नारायण माध्यमिक विद्यालय र बागचौर नगरपालिका–२ थारमारेमा रहेको जनकल्याण नमूना माध्यमिक विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका हुन् । तीमध्ये च्युरा र रुमालगाउँको विद्यालयलाई नेपाल–भारत सहयोग अन्तर्गत दूतावासले निःशुल्क बस हस्तान्तरण गरेको हो भने थारमारेले आफ्नै लगानीमा बस सञ्चालन गरेको हो ।
त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराका प्रधानाध्यापक गुमानसिंह बिष्टले विद्यार्थीको सहजताको लागि बस सेवा सञ्चालन गरिएको बताउनुभयो । ‘हामीले निःशुल्क बस सेवाका लागि पहिल्यै आवेदन दिएका थियौं, जसमा हाम्रो विद्यालय पनि छनौट भयो, पहिले विद्यालयमा बस थिएन, अब भने सबै विद्यार्थीलाई आउजाउ गर्न सहज हुने अपेक्षा गरेका छौं’– उहाँले भन्नुभयो । शैक्षिक सत्र २०८० मा यस विद्यालयमा एक हजार एक सय ६० विद्यार्थी भर्ना भएका थिए । यस शैक्षिक सत्रमा एक हजार दुई सयबढी विद्यार्थी भर्ना गर्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो । ‘अहिले सामुदायिक विद्यालय पनि अब्बल बन्दै गएको छ, यस विद्यालयमा प्राविधिक धारतर्फ बालिविज्ञान विषयको पनि पठनपाठन भइरहेको छ, नर्सरीदेखि कक्षा दुईसम्म अंगे्रजी माध्यमबाट पठनपाठन भइरहेको छ, नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क बस सेवा दिन्छौं’– उहाँले भन्नुभयो– ‘माथिल्लो कक्षाका विद्यार्थीबाट न्यूनतम शुल्क उठाउँछौं ।’अहिले बस लिएर नै विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको विद्यालयले जनाएको छ । दूतावासमार्फत पहिलो पटक जिल्लाका दुई सामुदायिक विद्यालयले बस ल्याएका हुन् । यसअघि जिल्लाका कुनै पनि विद्यालयले बस सेवा सञ्चालनमा ल्याएका थिएनन् । संस्थागत विद्यालयले बस सेवा सञ्चालनमा ल्याए पनि सल्यानमा सामुदायिक विद्यालय कुनैले पनि बस सेवा सञ्चालन गरेका थिएनन् । नारायण माध्यमिक विद्यालय रुमालगाउँका प्रधानाध्यापक देबेन्द्र रावतले विद्यालय परिवारको सक्रियताले बस प्राप्त भएको बताउनुभयो । ‘भौगोलिकरुपमा विकट भएका कारण बस सञ्चालन गर्न त्यति धेरै सहज छैन्, तैपनि बस सञ्चालन गर्नु हाम्रो दायित्व हो, जुन उद्देश्यले हाम्रो विद्यालयलाई दूतावासमार्फत ३२ सीट क्षमता भएको बस प्राप्त भयो, यसले विद्यालयको शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने सोचेका छौं’– उहाँले भन्नुभयो ।यस विद्यालयमा शैक्षिक सत्र २०८० मा छ सय ९२ जना विद्यार्थी भर्ना भएका थिए । यस शैक्षिक सत्रमा भने करिब १५ प्रतिशतले विद्यार्थी बृद्धि हुने उहाँको दावी छ । ‘विद्यालय भन्दा टाढाका बालबालिकालाई पनि सहजरुपमा विद्यालयमा आएर पठनपाठनमा सरिक हुन यसले मद्दत मिल्ने छ, विद्यालयको क्षेत्रभित्रका सबै विद्यार्थीलाई बस सेवा दिने गरी अहिले भर्ना अभियान सञ्चालन गरिरहेका छौं’– उहाँले भन्नुभयो । जनकल्याण नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक तुलसीराम बस्नेतले आन्तरिक स्रोतबाट व्यवस्थापन गरेर विद्यालयले १३ लाख रुपैयाँमा बस खरिद गरी सञ्चालनमा ल्याएको बताउनुभयो ।‘पहिले विद्यालयमा बस थिएन, यो शैक्षिक सत्रदेखि बस सेवा सञ्चालनमा ल्याएका छौं, बसको ४० सीट क्षमता रहेको छ, गएको शैक्षिक सत्रमा करिब चौध सय विद्यार्थी थिए, यो पटक विद्यार्थी संख्या बढ्ने अनुमान गरेका छौं’– उहाँले भन्नुभयो ।

यस विद्यालयले पढ्दै, सिक्दै, कमाउदै जस्ता विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लाका अरु सामुदायिक विद्यालयले पनि बस सेवा सञ्चालन गर्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस