छत्रेश्वरी गाउँपालिकामा युवाहरुको नमुना गाउँसभा अभ्यास सम्पन्न

सल्यान,२० जेठ।

छत्रेश्वरी गाउँपालिकामा युवाहरुको नमुना गाउँसभा अभ्यास सम्पन्न भएको छ । गत जेठ १८ गते भोटेचौर स्थित गाउँपालिकाको सभाहलमा नमुना गाउँसभाका कार्यक्रमको समापन गरिएको हो ।

युवा नेतृत्व विकास र निर्णय क्षमता निर्माणको लागि सल्यानको छत्रेश्वरी गाउँपालिकामा नुमना गाउँसभा संचालन गरिएको हो । छत्रेश्वरी गाउँपालिकाको सहयोग, युवालयको आयोजना तथा दलित विकास समाज सल्यान, आइएम स्वीड्स डेभलपमेन्ट पार्टनर लगायतका निकायको समन्वयमा नमुना युवा गाउँसभा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउपालिकामा मंगलबारदेखि बिहिबारसम्म चलेको अभ्यासमा प्रत्येक वडाबाट वडा क्लवबाट प्रतिनिधित्व हुनेगरी गरी ३/३ जनाका दरले ७ वटा वडाबाट जम्मा २१ जना युवाहरु सहभागी हुनुहुन्थ्यो। उहांहरु युवा क्लव गठन तथा नमुना युवा संसद अभ्यास कार्यविधि बमोजिम १६-२४ वर्ष उमेर समूहबाट प्रतिनिधित्व गर्नुभएको थियो । जसमा १२ जना पुरुष र ९ जना महिला रहनुभएको थियो ।

कार्यक्रममा युवाहरुले युवा,जीवन र मार्गदर्शन, युवा संसदको अभ्यास र अवधारणा, लोकतन्त्र, लोकतन्त्रमा युवाको भूमिका,लोकतन्त्रमा जनताको शासन, सूचनाको हक ,यसको प्रयोगको संवैधानिक एवं कानुनी व्यवस्था, राज्यका अंग र तीनका भूमिका, योजना निर्माणका चरण, योजना तर्जुमाका आधार, लगायतका विविध पक्षहरु बारे जानकारी लिनुभएको थियो । उहांहरुलाइ राष्ट्रिय युवा परिषदका प्रशिक्षक श्री युवराज खड्काले प्रशिक्षण दिनुभएको थियो ।

त्यसपछि युवाहरुले नेपालको संविधानले व्यवस्था गरेबमोजिमको स्थानीय सरकारको निर्वाचन, निर्वाचन ऐन बमोजिमको निर्वाचन प्रक्रियमा सहभागी नमुना जनप्रतिनिधिहरु नमुना मतदानमार्फत मताधिकारको उपयोग गरी छनोट गर्नुभएको थियो । नमुना मतदान मार्फत गाउँपालिका अध्यक्षमा श्री जीवन बुढाथोकी र उपाध्यक्षमा श्री सीता राना मगर चयन हुनुभएको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सरकार सञ्चालको अभ्यास गाउँ सभामार्फत युवाहरुले गरेका थिए। जसमा आर्थिक वर्ष २०८१/०८२ को नमुना नीति तथा कार्यक्रम, नमुना बजेट, आर्थिक तथा विनियोजन विधेयक तथा स्थानीय युवा परिषद गठन सम्बन्धी विधेयक क्रमश सभा समक्ष प्रतुत गरी त्यस उपर छलफल र जवाफको प्रक्रिया पश्चात निर्णार्थ प्रस्तुत गरिएको थियो।

छलफलको क्रममा कसैले राम्रो नीति तथा कार्यक्रम ल्याएकोमा सभाध्यक्षलाई धन्यवाद दिनुभएको थियो भने कुनै गाउँ सभा सदस्यले गलत मनासयबाट आएको भनी आलोचना तथा परिमार्जन गर्न सभा मार्फत सभाध्यक्षको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपश्चात आवश्यक संशोधन सहित सर्वसम्मत पारित गरिएको थियो ।

नमुनना अभ्यास पछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । सो अवसरमा बोल्दै छत्रेश्वरी गाउँपालिका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले नमुना गाउँसभाको अभ्यासले युवाहरूमा राजनीतिक अभ्याससँगै नेतृत्व क्षमताको विकास हुने भन्दै देश विकासको मुल प्रवाहमा युवाहरूको भुमिका र उनिहरुलाई कृयाशिल र जिम्मेवार बनाउन यसप्रकारका कार्यक्रमले सकारात्मक भुमिका खेल्ने धारणा राख्नुभयो । प्रमुख प्रशासकीय अधिकृत श्री गुरु प्रसाद योगीले नमुना गाउँसभाले युवाहरुलाई सामुदायिक विकासमा देखिएका समस्या समाधानका लागि नेतृत्व गर्ने सीप प्रदान गर्ने अपेक्षा व्यक्त गर्दै गाउँपालिकाले युवाहरुलाइ प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । सो अवसरमा नमुना गाउँसभाका अध्यक्ष श्री जीवन बुढाथोकी र उपाध्यक्ष श्री सीता राना मगरले आफ्नो अनुभव सुनाउनुभएको थियो ।

युवालाई राजनीतिमा जिम्मेवार बनाउँदै समाज र राष्ट्रप्रति उत्तरदायी बनाउने, युवालाई देशप्रति जिम्मेवार बनाउने, युवाहरुमा असल चरित्र निर्माण गर्ने, समग्रमा युवाहरुमा नेतृत्वदायी क्षमताको विकास गराउने, भोलिको दिनमा जनप्रतिनिधि हुँदा काम गर्ने शैलि, नीति निर्माण तथा कानुनहरुको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक श्री शर्मिला थापाले बताउनुभयो । समापन कार्यक्रमको सहजीकरण कार्यक्रम सहायक श्री आरोही अधिकारीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस