सल्यानी खुकुरीको महत्व र इतिहास 

गुणस्तरका हिसाबले नेपाल मै चर्चित छन्, सल्यानी खुकुरी । सल्यान जिल्लाबाट सृजना भइ राष्ट्रिय स्तरमा ख्याति कमाउन सफल कलाका विविध रंगहरूमध्ये ‘सल्यानी खुकुरी’ निर्माण कला पनि निकै महत्वपुर्ण रहेको छ ।
सशस्त्र द्धन्दको समयमा खुकुरी बनाउने पेशा बन्द भएपनि शान्ति प्रक्रिया शुरुभए सँगै यो पेशाको पुनः शुरुवात गरिएको छ ।
सल्यानको पहिचान बनेको सल्यानी खुकुरीको माग अचेल अत्यधिक बढेको छ । स्वदेशी तथा विदेशी पाहुनाहरूलाई सल्यानी खुकुरी उपहार स्वरुप दिने मात्र नभएर घरायसी काममा समेत यसको बढी मात्रामा प्रयोग हुनाले पनि माग बढ्दै गएको हो ।
सल्यानी खुकरीका अलावा यहाँ सिरुपाते, टोरा ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्री, जी-डव्लु खुकुरी, डव्लूडव्लू वान, डव्लूडव्लू टु जस्ता एकदर्जन अन्य खुकुरीहरू समेत बनाउने गरिन्छ ।
खुकुरी उद्यमी इन्द्र विकका अनुसार सल्यानी खुकुरी देशभित्र काठमाडौं, पोखरा, बुटवल तथा देशबाहिर अमेरिका, अस्ट्रेलिया, युरोप, जापान लगायतका देशमा उपहारका रूपमा पठाउने गरिएको छ ।
एक अंगुल बराबरको एक सय रुपैयामा बेच्ने गरेको खुकुरी अहिले सल्यानको चिनारीका रुपमा अन्य जिल्ला/मुलुकमा जाने गरेको छ । शुरुमा ५ वटा खुकुरी उद्योग संचालन भएपनि ति मध्ये अहिले दुईवटा बन्द भईसकेका छन् भने तीनवटा मात्रै संचालनमा छन ।
सल्यानी खुकुरी उद्योगहरुमा पहिले बन्दुकसमेत निर्माण गर्ने गरिन्थ्यो तर हाल यो काम भने बन्द गरिएको छ । खुकुरीको बढी माग सेनाका ब्यारेकहरुबाट आउने गरेको छ ।
खुकुरीको माग अत्यधिक बढेपनि युवा पुस्ताको आकर्षण बढ्न नसक्दा यो पेशा संकटमा पर्न सक्ने देखिएको छ ।

सल्यानी खुकुरीको इतिहास

२०१७ सालतिर तत्कालीन राजा महेन्द्र शाहले सल्यान भ्रमणका क्रममा ‘सल्यानी खुकुरी’को महिमागान सुन्न पुगे । उनी उत्साहित भए र तुरुन्तै त्यस समयका चर्चित खुकुरी निर्माता तिलक वि.क.सँग सदरमुकाम खलंगाको मेचखानामा भेट गरी खुकुरी बन्ने प्रकृया र गुणस्तरको अवलोकन गरे । उनले तत्काल खुकुरी निर्माण सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुका साथै आफुसँगै १२ थान सल्यानी खुकुरी पनि काठमाडौं लिएर गए ।

काठमाडौंमा उनले सानो प्रदर्शनी राखेर सल्यानी खुकुरीलाई सबैसामु परिचित बनाए । प्रदर्शनी लगत्तै सबैतिर यसको वाहवाही हुन थाल्यो र सल्यानी खुकुरीको माग बढ्न थाल्यो ।

यसरी हेर्दा सल्यानी खुकुरीलाई राष्ट्रियकरण गर्ने श्रेय राजा महेन्द्रलाई जान्छ ।

(विभिन्न समाचार तथा लेखको सहयोगमा राेजर अनलाइनद्वारा तयार पारिएको)

प्रकाशित मिति : २०८१ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस