~डा. मित्र पाठक
जडिबुटी तथा बनस्पति विज्ञ
बाहिरी आवरण हेरेर मात्र च्याउ विषालु हो कि होइन भन्ने छुट्याउन सकिंदैन । तैपनि जंगलमा उम्रिएको कुनै च्याउबाट नमिठो गन्ध आएको छ र त्यसमा झुसको मात्रा अत्यधिक छ भने त्यो च्याउ विषालु हुन सक्छ । च्याउबाट तीतो स्वादको गन्ध आएको छ र च्याउ रङ्गीचङ्गी छ भने पनि त्यो विषालु हुन सक्छ ।
त्यस्तै च्याउलाई भाँच्दा त्यसबाट दूध वा चोप निस्कन्छ र हातले छुँदा त्यसको रङ फेरिन्छ ९धेरै निलो हुन्छ, स्थानीयका अनुसार० भने पनि त्यस्तो च्याउ विषालु हुन सक्ने मानिन्छ । धेरै विषालु च्याउ झट्ट हेर्दा आकर्षक र सफा देखिन्छन् । सामान्यतया खान योग्य च्याउको आयु छोटो हुने र केही दिनमै ओइलाउँछ । विषालु च्याउ भने धेरै दिनसम्म उस्तै रहिरहन सक्छ ।
कतिपय विषालु च्याउ खाँदा मान्छे तत्कालै मर्न पनि सक्ने हुँदा जथाभावी च्याउ खानु हुँदैन । कतिपय च्याउ खाएको लामो समयपछि मात्र शरीरमा असर देखिन थाल्छ । च्याउले खासगरी कलेजोलाई असर गर्छ र पित्तमा पुगेर त्यसले नयाँ पदार्थ बनाउँछ र त्यसले मिर्गौलाको काम गर्ने क्षमता पनि कमजोर बनाउँछ । जसले गर्दा कलेजो र मिर्गौला फेल भएर मान्छे मर्न सक्छ ।
विषालु च्याउको असर बालबालिका र वृद्धवृद्धामा अधिक हुन्छ । विभिन्न च्याउ एकै ठाउँमा राखेर पकाउनु हुँदैन । र, च्याउ खाएको बेला माछा(मासु पनि नखाएको राम्रो मानिन्छ । अर्को कुरा भण्डारण गर्न जानिएन भने खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छ । कुनै विषालु च्याउले भने खाएको आठदेखि २४ घण्टामा पनि असर देखाउँछ ।
समाजमा विषालु च्याउ चिन्नेबारे विभिन्न गलत धारणा व्याप्त रहेकाले तिनबाट जोगिनुपर्ने हुन्छ । समाजमा सबैभन्दा प्रचलित भनाइ छ, ‘जंगली च्याउ चिन्न पकाइएको भाँडोमा चाँदी डुबाइ हेर्नु ।’ तर सबै विषालु च्याउले चाँदीलाई कालो नबनाउने हुँदा त्यो विधिलाई भरपर्दो मान्न सकिंदैन । चाँदीले च्याउमा हुने धेरैमध्ये एउटा मात्र विषालु तत्त्वको मात्र जाँच हुन्छ, जबकि च्याउमा अनेकथरी विष पाइन्छ ।
त्यसैगरी खरानी, सिस्नु र टिमुरले विष मार्छ भनेर ती हालेर नडराई च्याउ खानु पनि अर्को मूर्खता हुन सक्छ । त्यस्तै अन्य भ्रमहरुमा विषालु च्याउलाई चामलसँग उमाल्दा रातो हुन्छ, विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ, विषालु च्याउका चुच्चा छतरी हुन्छ, खान हुने च्याउका चेप्टा हुन्छन् आदि । कुनै च्याउको विषालु तत्त्व पकाउँदा नष्ट हुन्छ भने कुनैको हुँदैन । सेतो दूध आउने च्याउ प्रायः विषालु हुन्छन् । यस विषयमा च्याउ चिन्ने मान्छेको सल्लाह भने अनुशरण गर्नुपर्छ । आफैं जान्ने सुन्ने बन्नु हुँदैन ।