सल्यानका किसानले साउनमै धानवाली भित्र्याए

सल्यान,२३ श्रावण

सल्यानका किसानले साउनमै धानवाली भित्र्याएका छन् । चैतमा रोपेर पनि धान फल्छ र ! सोच्ने किसानहरु धान खेती राम्रो भएपछि उत्साहित भएका छन् । विगतमा कालिमाटी क्षेत्रमा मात्रै हुदैँ आएको चैते धान खेती अहिले कुमाख, शारदा र त्रिबेणीमा पनि राम्र्रो फलेको छ । चैतमा रोपेको धान भित्र्याएका किसानले सोही खेतमा बर्खे धान रोपेका छन् ।

वरिपरीका खेतमा बर्खे धान रोपाई चलिरहेको बेला आफुले चैते धान भित्र्याउनुको हर्ष बेग्लै हुने कुमाख गाउँपालिका– २ नारायणटाकुराका किसान बिर बहादुर बुढाथोकीले बताउनुभयो । ‘हामीलाई त चैतमा रोपेको धान पनि फल्ला भन्ने बिश्वासै थिएन’ उहाँ भन्नुहुन्छ ‘चैते धान राम्रो फल्ने रहेछ, एकदमै खुशी लागेको छ ।’ अब हरेक वर्ष चैते धान खेती गर्ने उहाँ बताउनु हुन्छ ।

‘वर्षमा दुई पटक धान खेती गर्न सकिने रहेछ, पोहोर साल परिक्षणका लागि यसक्षेत्रमा ४ रोपनीमा चैते धान रोपिएको थियो, उत्पादन राम्रो भएपछि यो बर्ष ३० रोपनीमा रोपिएको छ, मैले मात्रै ५ रोपनीमा खेती गरेको थिए, दुई पटक धान खेती गर्दा उत्पादनमा पनि बृद्धि हुने र बस्तुभाउलाई पराल पनि हुने भयो’ उहाँले थप्नुभयो ‘चैते धान भित्र्याएर सोही खेतमा बर्खे धान रोपेका छौँ, केही आधा खेतमा चैते धानका ठेलाबाट नै धान उत्पादन गर्ने भनेर त्यसै छोडेका छौँ ।’

चैते धानवाली भित्र्याएर बर्खे धान रोपेका अर्का किसान मेघ बहादुर शाहले आगामी वर्ष आफ्नो सबै जमिनमा चैते धान रोप्ने बताउनुहुन्छ । ‘यस वर्ष त हुन्छ कि हुन्न भनेर थोरै जमिनमा बिचार गरेको हुँ’ उहाँ भन्नुहुन्छ ‘राम्रो फल्ने रहेछ, अव त सबै जमिनमा लगाउँछु ।’ यो बर्ष परिक्षणका लागि ६ रोपनी क्षेत्रफलमा चैते धानको खेती गरिएको उहाँको भनाइ छ ।

‘चैते धान राम्रो फल्ने रहिछ, एकैबर्षमा दुई बाली धान फले को खुसी हुदैँन र ?, चैतको ४ गते रोपाई भएको हो, १ सय २२ दिनमा धान काटियो’ उहाँले थप्नुभयो ‘उत्पादन लोभलाग्दो थियो, तर हामीले धान भित्र्याउन पाएनौँ, दिनभर धान काटेर झाट्नको लागि सितल छहारी सामुदायिक बनको कोठामा राखियौँ, रातभर झरी लाग्यो, खहरे खोला भवन भित्र पसेर सबै धानमा क्षति भयो, ९० प्रतिशत धान खेर गयो ।’

कालिमाटी गाउँपालिका–६ छरछरेका किसान विर बहादुर झेडीले बर्खे धान भन्दा चैते धान राम्रो फलेको बताउनुभयो । ‘अरुले रोपाई गर्ने बेलामा यहाँ धानका बाला झुलेर लहलह भएका हुन्छन्, चैते धान भित्र्याउन वित्तिकै बर्खे धान रोप्ने गरिन्छ, त्यसपछि तोरी हुन्छ, फेरी गहुँ रोप्यो, खेतवारी बाँझो हुदैनन्’ उहाँले भन्नुभयो ‘धेरै पटक बाली लगाउँदा उत्पादन धेरै हुन्छ ।’ यस क्षेत्रका फाँटमा बाह्रै महिना सिँचाइ हुने भएकाले खेतीपातीमा कुनै समस्या नभएको उहाँको भनाइ छ ।

जिल्लालाई धान उत्पादनमा आत्मनिर्भर बनाउन कृषि विकास कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाईले मलविउमा अनुदान तथा प्राविधिक सहयोग गर्दै आएका छन् । परियोजनाका प्रमुख भिम पाण्डेले धान उत्पादनबाटै जिल्लाबासी आत्मनिर्भर हुनसक्ने र दुई बाली धान लगाउँदा आयातित चामललाई रोक्न सकिने बताउनुभयो ।

‘गत बर्ष कुमाख गाउँपालिकाको २ नम्बर वडामा चैते धानको परिक्षण गरेका थियौँ, यो बर्ष कुमाख गाउँपालिकाकै ४, शारदा नगरपालिकाको श्रीनगर फाँट र त्रिबेणी गाउँपालिकाको लुहाममा चैते धानको सफल परिक्षण गरिएको छ’ उहाँले भन्नुभयो ‘बाह्रै महिना सिँचाई हुने फाँटमा चैते धान खेतीको विस्तार गर्ने योजना छ, आउँदो बर्ष क्षेत्र बढाएर खेती गर्छौ ।’ धानको विउ, मल, प्लाष्टिक, हजारी लगाएत ब्याडका लागि चाहिने सामाग्री, मेसिनरी सामाग्री आदीमा अनुदान दिएको उहाँको भनाइ छ ।

जिल्लामा बर्खे धान र चैते धान गरेर दुई पटक धान खेती गरिदै आइएको छ । जिल्लाभर यसबर्ष ४० हेक्टर क्षेत्रमा चैते धान खेती गरिएकोमा १६५ मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका सुचना अधिकारी ईश्वरी नारायण घर्तीले जानकारी दिनुभयो । अघिल्लो बर्ष ७ हेक्टरमा चैते धान खेती गरिएको थियो भने २६ मेट्रिक टन उत्पादन भएको थियो । यो पटक जिल्लामा ६ हजार २९ हेक्टर क्षेत्रमा बर्खे धान खेती गरिएको छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस