असाेज १३, जुम्ला ।
जुम्लाको गोठीचौर गाउँपालिकाको पाटनमा सोमबार चट्याङ लागेर भेडाबाख्रा मरेका छन् | चट्याङ लागेर करिब ४० भेडा मरेका छन् भने १५ भेडा घाइते भएका छन् ।
गोठीचौर गाउँपालिकाको वडा नम्बर ४ स्थित सामुदायिक वनअन्तर्गतको चिमारा लेकनजिकै डाब भन्ने ठाउँमा चट्याङ लागेर सोही वडाका स्थानीय नानो भण्डारीका १० भेडा मरेका २ घाइते, यस्तै मुनबहदुर भण्डारीका ४ मरेका २ घाइते, मुणिप्रसाद अधिकारीका १७ मरेका ७ घाइते र देवीप्रसाद अधिकारीको ९ मरेका ४ घाइते भएको इलाका प्रहरी कर्यालयका गुठीचौरका इन्चार्ज कमल श्रेष्ठले बताए ।
उनकाअनुसार चट्याङ लागेर भेडाबाख्रा परेपछि करिब ६ लाख ५० हजार बराबरको क्षति भएको छ ।
भेडाखर्क पाटन क्षेत्रमा परेको चट्याङबाट भेडापालक किसानको पुर्खौली पेसालाई नै ध्वस्त भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए ।
यो क्षेत्रको अधिकांश स्यानीयको मुख्य आम्दानीको स्रोत भनेकै भेडापालन हो । गिरीले भने, भेडापालक किसानलाई राहतका लागि गाउँपालिकामा छलफल गरेर मात्र राहतको कुरा गर्न सकिनेछ।
भेडा मरेपछि व्यावसायिक रूपमा भेडा पालेरै जीविकोपार्जन गर्दै आएका किसानलाई रोजीरोटी जुटाउन मुस्किल परेको छ । ठूलो मात्रामा क्षति भएपछि स्थानीयले राहतको माग गरेका छन् । जुम्लामा गएको ०७० सालमा निरन्तर परेको असिनापानी र हावाहुरीले करिब सात सय भेडाबाख्रा मरेका थिए भने ०७७ सालमा पाँच सय भेडा मरेको तथ्यांक छ ।