सल्यानमा बिहेकाे नाच हेर्न गएकाे एक समूहले बेहुलीका दाइकाे हत्या

सल्यान ,१४ बैशाख।

सल्यानमा बिहेकाे नाच हेर्न गएकाे एक समूहले बेहुलीका दाइकाे हत्या गरेका छन्

जिल्लाको कुमाख गाउँपालिका ६ वडागाउँका २१ वर्षीय विकास वलीको छिमेकी गाउँ वडा नम्बर ५ झारकाँडाका ११ जनाकाे समुहले कुटपिट गरि हत्या गरेका हुन् ।

मङ्गलबार राती करिब ९ बजेकाे समयमा वडा न‌‍म्बर ६ काैछेमा गाेरख वलीकाे घरमा छाेरीकाे विवाह थियाे । मृतक विकास वलि र गाेरख वली सहाेदर अ‌ङ्कल भतिज हुन् । विकास बडागाउँबाट काैछेमा अङ्कलकाे छाेरी (बहिनी)काे बिहेकाे लागि गएका थिए ।

दिनभर बिहेमा व्यस्त भएका उनि साँझ बहिनी सहित जन्ती विदाइ गरेपछि घरका परिवारसँगै थिए । त्यसक्रममा बिहेघरमा नाच हेर्न भनेर झारकाँडाका ११ जना युवाकाे समुह आए ।

पीडित पक्षका अनुसार ति युवाकाे समुहले हाेहल्ला सहित आँगनमा सिङ्गारिएका पतङ्गा, गेटहरु फालेर उभद्राे गर्न थाले । ‘घरकाे छेउमा राेकिराखेकाे माेटरसाइकलमा ताेडफाेड गर्न थाले ।’ ‘त्यसपछि मृतक विकासले यस्ताे उभद्राे किन गरेकाे भनेर प्रतिकार गर्न थाले ।’

दुवै पक्षबाट झगडा बढ्दै जाँदा ११ जनाको समुहले घरदेखि करिब १ किलोमिटर टाढाको जंगलको बाटोमा विकासलाई लगेर निर्घात कुटपिट गरि बेहोस बनाएर छोडेको परिवारले जनाएको छ । राति खोज्दै जाँदा विकास बाटोमा बेहोस भएर लडेको र परिवारले उठाएर मिसन अस्पताल रुकुम पश्चिमको चौरजहारीमा लगि सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लिने क्रममा बुधबार बिहान बाटोमै मृत्यु भएको परिवारले जनाएको छ ।
बिहे सकिएपछि साँझ घरमा धेरै मान्छे नभएको र अँधेरी रात भएकोले ११ जनाको समुहलेे सजिलै सँग विकासलाई आक्रमण गरेको मृतकका दाइ भिम प्रकाश वलीले बताए ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । कुटपिट गर्ने अन्दाजी २० वर्षीय मानसिहं कुमाई, १९ वर्षीय हेमन्त थापा लगायत११ जनालाई नियन्त्रणमा लिईएको सल्यान प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बताए ।

पक्राउ परेकाहरू दोहोरो विवाद हुँदा घटना घटेको र आफुहरुमाथी भएको आक्रमणको प्रतिरक्षा गर्दा मृतकलाई चोट लागेर ज्यान जान पुगेको बयान दिएको प्रहरीले जनाएको छ । यसबारे अहिले अनुसन्धान भैरहेकोले थप यथार्थ कुरा पत्ता लगाउन केहि समय लाग्ने डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस